स्थानीय
इलाका प्रहरी कार्यालय दमकका दुई इन्स्पेक्टर नविन राई र बिपन विश्वकर्माको सरुवा
दमक । झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ। नेपाल प्रहरीको नियमित प्रशासनिक सरुवा तथा काज प्रक्रिया अन्तर्गत दमकमा कार्यरत इन्स्पेक्टर नविन राई र इन्स्पेक्टर बिपन विश्वकर्माको सरुवा भएको हो।प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक बिपन विश्वकर्माको नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, काठमाडौँमा सरुवा भएको छ। उहाँले दमकमा रहँदा विभिन्न किसिमका अपराध अनुसन्धान र कानुनी प्रक्रियालाई चुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।यसै गरी, दमकै कार्यरत अर्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन राईको पनि कास्कीको पोखरास्थित गण्डकी प्रदेश प्रहरी गणमा सरुवा भएको छ। राईले दमक क्षेत्रको शान्ति सुरक्षा र सडक तथा बजार क्षेत्रको व्यवस्थापनमा सक्रिय कमान्ड सम्हाल्दै आउनुभएको थियो।दमक क्षेत्रको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन र आम नागरिकलाई कानुनी राज्यको अनुभूति दिलाउन फिल्डमा खटिएका दुवै इन्स्पेक्टरहरूको सरुवा भएसँगै दमकमा उहाँहरूको कार्यकाल पूरा भएको छ।
दमकमा बढ्दो क्याफे मोह: ‘क्रेज’ कि लहड ?
दमक, झापा । पछिल्लो केही वर्षयता दमकको स्वरूप र जीवनशैलीमा एउटा ठूलो परिवर्तन देखिएको छ। सहरका मुख्य चोकदेखि भित्री गल्लीहरूसम्म अहिले एउटै दृश्य साझा बनेको छ— त्यो हो, रङ्गीचङ्गी ‘क्याफे’ हरू। युवा पुस्ताको बढ्दो आकर्षण र भेटघाटको नयाँ गन्तव्यका रूपमा क्याफे संस्कृति दमकमा निकै फस्टाएको छ। तर, यो बढ्दो मोहसँगै केही गम्भीर प्रश्नहरू पनि सतहमा आएका छन्। के दमकमा क्याफे खुल्ने क्रम आवश्यकताको आधारमा छ कि केवल देखासिखी र लहडमा ?लगानीको ओइरो, अध्ययनको खडेरीदमकमा एउटा सामान्य देखिने क्याफे खोल्न पनि अहिले लाखौँ रुपैयाँ खर्च भइरहेको छ। सजावट (Interior), फर्निचर र अत्याधुनिक उपकरणमा लगानीकर्ताहरूले मनग्ये पैसा खन्याएका छन्। तर, बिडम्वना के छ भने, लाखौँको लगानी गर्ने धेरै लगानीकर्ताहरूले व्यवसाय सुरु गर्नुअघि बजारको अध्ययन र व्यावसायिक योजना बनाएको देखिँदैन। अर्काको क्याफेमा ग्राहकको भीड देखेकै भरमा, कतिपयले अध्ययन बिना नै लगानी गरिरहेका छन्। जसको परिणाम स्वरूप, सुरुका केही महिना उत्साहजनक देखिए पनि बिस्तारै धेरै क्याफेहरू ग्राहकको अभावमा छटपटाउन थाल्छन्।पार्किङ र मूल्यको सास्ती क्याफे खुल्ने क्रम बढे पनि सेवाको गुणस्तरमा भने खासै सुधार आउन सकेको छैन। दमकका अधिकांश नयाँ क्याफेहरूको मुख्य समस्या ‘पार्किङ’ बनेको छ। सडकको छेउमा वा साँघुरो ठाउँमा खोलिएका क्याफेमा आउने ग्राहकका सवारी साधनले गर्दा सहरको ट्राफिक व्यवस्थापनमै चुनौती थपिएको छ।अर्कोतर्फ, मध्यमवर्गीय परिवार र विद्यार्थीहरूको बाहुल्यता रहेको दमकमा क्याफेको मूल्य अचाक्ली महँगो भएको गुनासो व्याप्त छ। एउटै कफी वा खाजाको मूल्य साधारण होटलको तुलनामा तेब्बरसम्म हुनुले यो संस्कृति केवल सीमित वर्गको विलासिता मात्र बन्ने त होइन भन्ने आशङ्का उब्जाएको छ। धेरैजसो क्याफेमा स्वाद र सेवामा एकरूपता छैन। सजावटमा लाखौँ खर्च गर्ने तर भान्साको स्वच्छता र कर्मचारीको व्यवहारमा ध्यान नदिने प्रवृत्तिले गर्दा ग्राहकहरू दोहोर्याएर जाने वातावरण बन्न सकेको छैन।युवा पुस्तालाई सुझाव: लहडमा नलागौँ सहरमा विकल्पहरू थपिनु राम्रो पक्ष हो। तर, नयाँ लगानी गर्न खोज्ने युवा पुस्ताले के बुझ्न जरुरी छ भने, व्यवसाय केवल ‘सेल्फी’ खिच्ने ठाउँ बनाएर मात्र टिक्दैन। नाफाको लोभमा अध्ययन बिना नै हाम फाल्नुले आर्थिक जोखिम मात्र बढाउँछ। क्याफे खोल्नुअघि लोकेसन, लक्षित ग्राहक, पार्किङ सुविधा र सबैभन्दा महत्वपूर्ण कुरा—खाजाको स्वाद र उचित मूल्यमा ध्यान दिनु आवश्यक छ।निष्कर्षमा, दमकको क्याफे मोहलाई दिगो बनाउने हो भने अब सजावटमा मात्र होइन, सेवा र अध्ययनमा पनि ध्यान दिनु पर्ने समय आएको छ। नत्र, अहिले देखिएको यो उत्साह भोलि बालुवाको जगमा ठडिएको महल जस्तै ढल्न बेर लाग्ने छैन।
डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण: अध्यक्षमा अप्सन खनाल निर्वाचित
दमक/ डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। फाल्गुन ७ गते आयोजित उक्त विशेष समारोहले डिपीएल टिन्स बोर्ड दमक–२०२६ का लागि अप्सन खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोजीत बस्नेत, महासचिवमा उपमा राउत र कोषाध्यक्षमा सुप्रीम पाण्डे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदको जिम्मेवारी रिश्ता खड्का र अमिस पौडेलले प्राप्त गर्नुभएको छ। संस्थाको गतिविधिलाई प्राविधिक तथा रचनात्मक रूपमा अगाडि बढाउन निर्देशकहरूको रूपमा अप्सना बस्नेत, रक्षा प्रसाई, सुजल श्रेष्ठ र अंशु निरौलालाई नियुक्त गरिएको छ भने सदस्यहरूमा श्रीबिना राई र प्राप्ति दाहाल रहनुभएको छ।नवनिर्वाचित अध्यक्ष अप्सन खनालले पदभार ग्रहण गर्दै संस्थाको गरिमालाई उच्च राख्ने र आगामी दिनमा सामाजिक तथा संस्थागत क्रियाकलापलाई थप सक्रिय एवं प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका वक्ताहरूले नयाँ कार्यसमितिले युवाहरूको नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा नवीन योजनाहरू ल्याउँदै दमक क्षेत्रमा संस्थाको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। नयाँ कार्यसमितिको आगमनसँगै डिपीएल टिन्स बोर्डले सामाजिक रूपान्तरण र युवा सशक्तिकरणमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।