दमक/ मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण सम्पन्न भएको १३२ केभी क्षमताको केरौन सबस्टेसन चार्ज गर्न कात्तिक १४ र १५ गते विद्युत् आपूर्ति बन्द हुने भएको छ।

सबस्टेसनलाई पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनमा जोड्न दुहबी–दमक खण्डमा लुप इन र लुप आउटको काम गरिने भएकाले दुवै दिन बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म प्रसारण लाइन बन्द गरिनेछ।

यसबाट उक्त अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाइएको छ।

नवनिर्मित सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभीएका दुईवटा र ३३/११ केभीको २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए रहेको छ।

यसअघि उक्त क्षेत्रमा दुहबी–रानी–रङ्गेली हुँदै करिब ५० किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो। केरौन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको दूरी घट्ने र सेवा थप भरपर्दो तथा गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ।

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका पाँचवटा फिडर निर्माण गरिएका छन्। साथै, केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ।

२०७८ असारमा ठेक्का सम्झौता भएको यस आयोजनाको अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको छ। आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।