स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एक गोल नै स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो।


निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।


खेलको निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले थप दबाब सिर्जना गर्दै अतिरिक्त समयमा गोल निकाल्न सफल भयो।


सम्पूर्ण खेल अवधिभर बल नियन्त्रण र आक्रामक खेलमा स्पेनले पकड जमाएको थियो। अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि स्पेनको रक्षापंक्तिलाई भेद्न सकेन।


यससँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्दै आफ्नो दोस्रो विश्वकप ट्रफी उचालेको छ। अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा सफल हुन सकेन।