एमालेको चुनावी सरगर्मी: फागुन ४ र ५ गते दमकका विभिन्न स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने
दमक, झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै झापा क्षेत्र नं. ५ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यसै क्रममा नेकपा (एमाले) निर्वाचन परिचालन समिति दमक-३ ले आफ्नो क्षेत्रमा चुनावी अभियानलाई थप सशक्त बनाउन दुई दिने विशेष भेला तथा आमसभाको आयोजना गर्ने भएको छ। यही फागुन ४ र ५ गते दमकका विभिन्न तीन स्थानमा आयोजना हुने उक्त कार्यक्रमहरूमा झापा क्षेत्र नं. ५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिति रहने समितिले जनाएको छ।
निर्वाचन प्रचारप्रसार समिति दमक-३ का अनुसार अध्यक्ष ओलीले फागुन ४ गते पहिलो दिन दमक-३ स्थित आमचोकमा बेलुका ४:०० बजे आयोजना हुने विशाल चुनावी भेलालाई सम्बोधन गर्नुहुनेछ। त्यस्तै, दोस्रो दिन फागुन ५ गते बिहान ११:०० बजे दुम्से स्कुल अगाडि र त्यसलगत्तै ११:३० बजे तल्लो क्षेत्र टुकुरेस्थित बिजनेस टावरमा अर्को चुनावी सभा हुने तय भएको छ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि सभा, जुलुस र घरदैलो जस्ता प्रचारप्रसारका कार्यक्रम गर्न अनुमति दिएको छ। सोही समयसीमा सुरु भएकै दिनदेखि एमालेले आफ्नो पकड क्षेत्र मानिने दमक-३ बाट आक्रामक चुनावी अभियान थाल्न लागेको हो। समितिले पार्टीका सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक, समर्थक तथा आम मतदाताहरूलाई उल्लेख्य संख्यामा उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।