अछाममा निर्धारित समयभित्र निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीका ६ वटा ठेक्का अन्त्य गरिएका छन्। निर्माण कार्यमा अपेक्षित प्रगति नभएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको अछाम डिभिजनले ती ठेक्का रद्द गरेको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार ठेक्का अन्त्य गरिएका निर्माण व्यवसायीबाट ४९ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम सरकारी खातामा दाखिला गराउन पत्राचार गरिएको छ। लामो समयदेखि निर्माण अलपत्र पार्ने तथा सम्झौताअनुसार काम नगर्ने व्यवसायीमाथि कारबाही अघि बढाइएको उनले बताएका छन्।

ठेक्का रद्द गरिएका योजनामध्ये मंगलसेन–सुखाड–खेतगैरे–जुलिमारे–ढकारी सडक निर्माण आयोजना पनि रहेको छ। २०७९ वैशाख १६ गते सम्झौता भएको उक्त सडकको लम्बाइ १० किलोमिटर छ। निर्माण सम्पन्न गर्ने समयसीमा २०८३ वैशाख १६ गतेसम्म थपिए पनि भौतिक प्रगति १९.८३ प्रतिशतमा मात्रै सीमित रहेपछि ठेक्का अन्त्य गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

त्यस्तै, सन् २०१९ अर्थात् २०७६ सालदेखि नै निर्माण अलपत्र रहेका विभिन्न योजनाका ठेक्का पनि अन्त्य गरिएको जनाइएको छ। ती योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण र बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक निर्माणलगायतका आयोजना समावेश छन्।

मन्त्री लम्सालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका ठेक्का अन्त्य गर्ने प्रक्रिया तीव्र बनाइएको बताएका छन्। उनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका हुन्।

निर्धारित समयभित्र काम सम्पन्न नहुँदा सार्वजनिक पूर्वाधार निर्माण प्रभावित हुने र लागतसमेत बढ्न सक्ने अवस्थामा सरकारले ठेक्का रद्द गर्नुका साथै सम्बन्धित व्यवसायीबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाएको हो। सरकारी लगानीका आयोजना समयमै सम्पन्न गराउने र निर्माणमा हुने ढिलाइप्रति जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले यस्तो कदम चालिएको जनाइएको छ।