आवर दमक | दमक, झापा: झापाको दमक नगरपालिका वडा नं. २ स्थित सनराइज मोडल स्कुलले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक प्रशंसनीय तथा मानवीय कार्यको थालनी गरेको छ। विद्यालयले आफ्नो वडाभित्र कसैको निधन भई शोक पर्दा मलामी जानका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

विद्यालयका प्रिन्सिपल जनार्दन मैनालीका अनुसार विद्यार्थीहरूलाई बिहान नियमित रूपमा स्कुल पुर्‍याइसकेपछि बिहान १० बजेपछि यो निःशुल्क बस सेवा उपलब्ध गराइनेछ। दुःखको घडीमा स्थानीय नागरिकहरूलाई व्यावहारिक तथा आर्थिक राहत पुर्‍याउने र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको विद्यालय परिवारले जनाएको छ।

प्रिन्सिपल मैनाली र विद्यालय परिवारको यो कदमको सामाजिक सञ्जाललगायत दमक क्षेत्रमा चौतर्फी प्रशंसा भइरहेको छ। स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ-संस्थाहरूले यसलाई अनुकरणीय कार्य भन्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।

यस उदाहरणीय कार्यबाट पाठ सिक्दै दमक क्षेत्रमा सञ्चालित अन्य विद्यालय, कलेज, बैङ्क तथा निजी संस्थाहरूले पनि नाफा कमाउने उद्देश्यमा मात्र सीमित नरही आ-आफ्नो तर्फबाट यस्तै सामाजिक जिम्मेवारी वहन गर्नुपर्ने आवाज उठ्न थालेको छ। सम्पूर्ण क्षेत्रका संस्थाहरू यसरी नै सामाजिक सेवामा अग्रसर भएमा समग्र दमक नगर सिङ्गो देशकै लागि एक नमुना र समृद्ध समाज बन्ने स्थानीयको विश्वास छ।

दमक-२ भित्र शोक परेको समयमा निःशुल्क बस सेवाका लागि विद्यालयको आधिकारिक नम्बर ९८५-२६८७६६६ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।